बाजुरा- नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिना अगावै पाठ्यपुस्तक पाएका हुन् ।
जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पुर्याएको हो । पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ ।
यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कणर्ाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ । प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताए । शैक्षिकसत्र सुरु हुनु भन्दा अगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्ना पश्चात सोही अनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताए ।
समयमै पुस्तक पुगेसँगै शैक्षिक सत्र सहज रुपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ । विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको महिनौँ बिति सक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिक सत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगि सकेको प्रअ जोशीले जानकारी दिए । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको जनाएको छ । जिल्लामा १ लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगि सकेको कार्यालयका प्रमुख राम बहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार बाजुरामा आठ बिक्रेता मध्ये सात जनाले पुस्तक लिइसकेका छन् भने एक जना लिने क्रममा छन् । बाजुरामा विसं २०८१ का लागि अनुमानित १ लाख २७ हजार ८ सय ६ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताए । सो मध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका भन्दै बाँकी केही दिनमा पुग्ने उहाँले जानकारी दिए । करुणा पुस्तक तथा डेल्टा स्टोरका सञ्चालन नृप खातीका अनुसार पहिलो पटक बाजुराका विद्यालयमा चैत महिना मै पाठ्यपुस्तक पुगेका बताए । “आफूले वितरण गर्ने कार्य क्षेत्रमा ९५ प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ”, उनले भने, “बाँकी रहेका विद्यालयमा केही दिनमा पुर्याउने छौँ ।”
केन्द्रले प्रदेशका विकट तथ दुर्गम गाउँलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ । बाजुरा पछि दार्चुला र बझाङमा पनि वितरण भइसकेको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले जानकारी दिए । उनका अनुसार दार्चुलामा ९१ हजार ४ सय ८६ थान र बझाङमा २६ हजार ५१ थान पुस्तक पठाइ सकिएको छ । सबै जिल्लामा चैत महिना भित्रमा पुस्तक पठाइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । आगामी शैक्षिक सत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार १ सय ८५ थान पुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ ।
बाजुरामा ढुवानीबापत १६ प्रतिशत खर्च जनकशिक्षाले दिनेछ । चैत महिनाभित्रै १९ लाख १५ हजार भन्दा बढी थान पुस्तक बिक्री भइसक्ने शिक्षा सामग्री केन्द्र धनगढीले दाबी गरेको छ । केन्द्रले चालु शैक्षिक सत्रमा १७ लाख ४१ हजार ७८ थान पुस्तक बिक्री गरेको थियो । पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट निकासा भएको छैन । नेपालको संविधान २०७२ मा माध्यमिक शिक्षा सम्मको अधिकार स्थानीय तहलाई छ । प्रदेशका स्थानीय तहले पुस्तक खरिदका लागि समेत बजेट विनियोजन र निकासा नगरेको पाइएको छ । ८८ स्थानीय तह मध्ये अधिकांशले बजेट विनियोजन र निकासा गरेका छैनन् ।
सामुदायिक विद्यालयमा पुस्तक खरिदका लागि बजेट नभएकाले समस्या हुने देखिएको केन्द्रको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले बताए । पाठ्यपुस्तकका लागि रकम निकासा नहुँदा समस्या हुनसक्ने उनको भनाइ छ । “स्थानीय तहहरुले विद्यालयलाई रकम दिने हो । सम्बन्धित विद्यालयले व्यवसायीलाई दिने हो । रकम निकासा नभएको भन्ने आएको छ । यसले गर्दा केही समस्या पर्छ कि भन्ने आशङ्का गरेका छौँ”, प्रमुख कुँवरले भने । उनका अनुसार पाठ्यपुस्तक बिक्रेताले भने केन्द्रबाट खरिद गरेर विद्यालयमा पठाइरहेका छन् । स्थानीय तहले पनि समयमै बजेट निकासा दिए वितरण गर्न बाँकी रहेका पुस्तक पनि समयमै विद्यालय पुग्ने उनको भनाइ छ । रासस