नेपाली कांग्रेस र जसपालाई सरकारमा ल्याउन परामर्श शुरु




धनगढी, ५ साउन- सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दलको भूमिकामा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउन परामर्श शुरु भएको छ । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको बर्हिगमनपछि सुदूरपश्चिम प्रदेशमा समेत केन्द्रकै सत्ता गठनबन्धनलाई निरन्तरता दिने गरी दुवै पार्टीलाई सरकारमा ल्याउन नेताहरुले परामर्श थालेका हुन् ।



कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव समूह, जनता समाजवादी पार्टीको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री र पार्टीका अन्य नेता काठमाडौं पुगेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट केही दिनदेखि काठमाडौंमै रहेका बेला मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्री पूणर्ा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का पनि काठमाडौं पुगेका छन् । कृषि मन्त्री विनिता चौधरी पनि केही दिनदेखि काठमाडौंमै छिन् ।


उनीहरुसँगै केही सांसद पनि काठमाडौं पुगेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी बाहेक प्रदेशका सबै मन्त्री र नेपाली कांगेसका सांसदहरु काठमाडौं जानुलाई अर्थपूणर् रुपमा हेरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संघीय सरकारमा जस्तै प्रदेशमा पनि कांग्रेस, माओवादी र जसपाबीच सत्ता सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी दिए ।



