घरमै दिइयो ९० वर्षीया वृद्धालाई नागरिकता

डोटी- जिल्ला प्रशासन कार्यालय डोटीले एक वृद्धालाई घरमै नागरिकता उपलब्ध गराएको छ । सायल गाउँपालिका-२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो । कार्यालयका कर्मचारी लाल बहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।

वृद्ध अवस्थामा रहेकी ओली कार्यालयमा आएर नागरिकता लिन नसक्ने अवस्थालाई हेरी विशेष सुविधा अन्तर्गत जनप्रतिनिधि र स्थानीयको समन्वयमा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

स्थानीय दल बहादुर ओली र आफ्नो करिब दुई वर्ष लामो निरन्तरको प्रयास पछि ओलीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सफल भएको सामाजिक अभियानकर्मी तेज डुम्रेलले बताए । नागरिकता पाएपछि वृद्धा सँगै उनका घरपरिवारका सदस्य हर्षीत भएका छन् । रासस

Loading...