मेयर गोपाल हमालको सचिवालयले भन्यो : मेयरको लोकप्रियता बढ्दै गएपछि उनका बिरुद्ध बिभिन्न षडयन्त्र हुन थाल्यो
धनगढी- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको सचिवालयले मेयरको लोकप्रियता बढ्दै गएपछि उनका बिरुद्ध बिभिन्न षडयन्त्र हुन थालेको बताएको छ । सचिवालयले स्थानीय तहको निर्वाचनमा सम्पूणर् प्रतिस्पर्धी भन्दा दोब्बर मत लिएर निर्वाचित भएका हमालको काममा अफ्ट्यारो पार्ने अनेक प्रयास मञ्चन भइरहेको जनाएको छ । जग्गा दलालहरुले गणेश रानालाई विष सेवन गर्न लगाएर मेयरलाई गलाउने प्रयास गरेको सचिवालयले जनाएको छ ।
गत मंसिरमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधि २०८० पारित गरेको थियो । कार्यविधिमा नयाँ प्लटिङ्गमा १०मिटर चौडा सडक हुनु पर्ने र प्लटिङ जग्गाको ५ प्रतिशत जमिन सार्वजनिक प्रयोगका लागि राख्नु पर्ने प्रावधान राखिएको छ । कार्यविधि राजपत्रमा प्रकाशित हुना साथ उक्त प्रावधानको बिरोधमा धनगढीका जग्गा ब्यवसायी अन्दोलित भएका थिए । धनगढीका जग्गा कारोबारीले गत माघ १० मा उपमहानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । धनगढीका जग्गा कारोबारी उमेश गिरिले उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
सचिवालयले विष सेवन गरेर सेती प्रादेशिक अस्पतालमा उपचाररत गणेश रानाले गत शुक्रवार राति ९ बजेर ३४ मिनेटमा मेयर हमाललाई ह्वाटसपमा धम्की पूणर् सन्देश पठाएको जनाएको छ । म्यासेज आउनु अघी सर्बसाधारणले मेयर हमाललाई सचेत भएर हिँड्न सुझाव समेत दिएको जनाइन्छ । हमालले शुक्रबार राति जग्गा कारोबारी रानाले धम्की दिएपछि असुरक्षा महसुस गर्दै सोमबार प्रहरीमा जाहेरी दिएका थिए ।
आइतबार बिहान राना सहितको जग्गा कारोबारीको टोलीले उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका थिए । जग्गा कारोबारीले धनगढी उपमहानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित चार जनालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरिएको छ ।