धनगढीमा महिला जनप्रतिनिधिका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

धनगढी- धनगढीमा महिला जनप्रतिनिधिहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अन्तरपार्टी महिला सञ्जाल सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको उक्त तीन दिने तालिम सम्पन्न भएको हो ।

निड्स नेपालको समन्वय तथा सहजीकरण र अक्सफमको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको छ । तालिममा वर्तमान र निवर्तमान महिला संसद, पालिकास्तरीय उप–प्रमुख लगायत सञ्जाल समूहको सहभागिता रहेको थियो ।

प्रत्येक राज्य सञ्चालनमा महिलाको सहभागिता ५० प्रतिशत हुनु पर्ने, स्थानीय निकायदेखि तीनै तहका सरकार तथा विभिन्न संघसस्था, एनजिओ, आइएनजिओ तथा राज्यले गर्नुपर्ने हरेक क्रियाकलापमा महिलाको सहभागिता हुनुपर्छ भन्ने आवाजका साथ कार्यक्रमको आयोजना गरिएको अन्तरपार्टी महिला सञ्जाल सुदुरपश्चिमकी अध्यक्ष माया कुवरले बताइन् ।

संविधान सभामा बोल्दा समय कम हुने, महिलाका समस्या राख्न समय नपुग्ने समस्या हुँदा महिलाका समस्या न्यूनीकरण गर्नका लागि कम समयमा बढी समस्या कसरी राख्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको निड्स नेपालकी अध्यक्ष दुर्गा खरेलले बताइन् ।

महिलाहरूलाई हेपाहा प्रवृत्तिमा राखिने, हिंसा गर्ने, महिलाहरू प्रति गरिने पितृसत्तात्मक सोचलाई न्यून गर्न र यस्ता गलत क्रियाकलापका विषयमा बोल्न तथा राज्यको सेवा सुविधालाई सहज रूपमा सम्बन्धित क्षेत्रमा सदुपयोग गर्नका लागि क्षमताको विकास गर्न सो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

महिलाका समस्याहरू अझै पनि दर्दनाक अवस्थामा रहेको हुँदा यस्ता समस्या कम गर्न सो तालिमको सिकाइले सहज हुने अन्तरपार्टी महिला सञ्जाल सुदूरपश्चिम प्रादेशिक सदस्य गीता सोडारीले बताइन् । सो तालिम सह्रानीय रहेको सहभागिहरूको भनाइ छ । महिलाहरूको क्षमता विकासका लागि राज्यले यस्ता तालिम दिन जरुरी रहेको समेत सहभागिहरूले बताएका छन् ।

Loading...