डोटी- सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियानको सुरु गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जको अगुवाइमा खप्तड घुम्न आउने पर्यटक लगायतलाई निकुञ्ज क्षेत्रमा जथाभाबी प्लास्टिक नफाल्न सचेत गराइएको छ ।
प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानि र क्षतिबारे सचेत गराउँदै प्लास्टिक रहित क्षेत्र बनाउने अभियान चलाइएको बताइएको छ । खप्तड राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले निकुञ्ज क्षेत्रमा घुम्न आउने पर्यटकले प्रयोग गरेको प्लास्टिक जथाभाबी फ्याँकेर जाँदा पाटनक्षेत्र प्रदूषित हुनका साथै वन्यजन्तुले खाने गरेको बताए ।
प्लास्टिक खाएर वन्यजन्तुको मृत्यु हुँदा निकुञ्ज क्षेत्रलाई क्षति पुग्ने भन्दै उहाँले खप्तड क्षेत्रलाई प्लास्टिकरहित क्षेत्र बनाउन लागिएको उनले बताए । ‘निकुञ्ज आरक्ष क्षेत्र भन्नेबित्तिकै प्राकृतिक वातावरणले अति सफा र सुन्दर हुनु पर्छ भन्ने मान्यता रहेको छ । उनले भने , ‘‘अब निकुञ्ज क्षेत्रमा प्लास्टिक जन्य सामग्रीको प्रयोग हुन नदिन कडाइका साथ काम गर्ने योजना बनाएका छौँ । प्लास्टिकजन्य वस्तु देख्ने बित्तिकै डस्टबिनमा राखिहाल्न सबैलाई आग्रह पनि गर्दै आएका छौँ ।’
प्राकृतिक दृष्टिकोणले सुन्दर खप्तड क्षेत्रलाई भू-स्वर्गको उपमा दिइएको छ । खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकले प्रयोग गरेर प्लास्टिक जथाभावी फ्याँक्दा निकुञ्जको सौन्दर्यका साथै वन्यजन्तुमा समेत असर पर्ने देखिन्छ ।
खप्तड क्षेत्रमा पर्यटकको संख्या बढ्न थाले सँगै निकुञ्जको सौन्दर्यमा ह्रास आउन नदिन सरसफाइमा सबैको हातेमालो आवश्यक रहेको पर्यटन व्यवसायीको भनाइ छ । ‘प्राकृतिक सौन्दर्यलाई कायमै राख्न जनचेतना फैलाउन जरुरी छ’ डोटीको झिग्रानामा रहेको खप्तड होमस्टेका सञ्चालक तथा पर्यटन व्यवसायी दीपक खड्काले भने, “खप्तडको सौन्दर्यलाई कायमै राखेर वन्यजन्तुको पनि संरक्षण र पर्यटन प्रवर्धनमा सहयोग पुर्याउँदै खप्तड क्षेत्रलाई प्लास्टिकरहित क्षेत्रका रूपमा विकास गर्नु पर्छ । यसमा सबै क्षेत्रले सहयोग गर्नु पर्छ ।”
खप्तडमा बर्सेनि घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाको अवधिमा ८८३ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् । आव २०७९/८० मा २ हजार ८ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् । यस्तै, आव २०७८/०७९ मा २ हजार २ सय ९ र आव २०७७/०७८ मा १ हजार ६ सय ८८ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् ।