सुदूरपश्चिम प्रदेशमा अझै ८२ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर

धनगढी- सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या अझै बीमाको पहुँच बाहिर रहेको पाइएको छ । २०७८ को जनगणना अनुसार २६ लाख ९४ हजार ७ सय ८३ जनसंख्या भएको सुदूरपश्चिममा ५ लाख ४ हजार ६ सय ७० पोलिसी बिक्री भएको छ । त्यसमा ५ प्रतिशत घटाउँदा ४ लाख ७९ हजार ४ सय ३७ अर्थात १७ दशमलव ७९ प्रतिशत नागरिक बिमाको दायरामा आएको पाइएको हो ।

नौ जिल्ला भएको सुदूरपश्चिममा जीवन बिमाका १ सय ८५ शाखा छन् । सुदूरपश्चिम प्रदेशका १८ प्रतिशत नागरिकले बिमा गरेको देखिएको छ । आर्थिक अवस्था र बिमा चेतनाको कमीले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच कम देखिएको हो । नेपाल बिमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्त सम्म जीवन बिमा गर्ने अधिकांश नागरिकको आर्थिक अवस्था भने कमजोर देखिएको हो ।

आर्थिक रुपमा कमजोर नागरिक रहेका प्रदेशमा बिमाको पहुँच न्यून देखिएको प्राधिकरणको तथ्यांकले पुष्टि गरेको छ । प्रदेशस्थित जीवन बिमा कम्पनीका शाखाले बिक्री गरेको पोलिसीका आधारमा यस्तो आँकडा निकालिएको हो । कम्पनीहरू सहरकेन्द्रित हुँदा पनि यस्तो अवस्था आएको प्राधिकरणका अधिकारीहरुको तर्क छ । बीमा व्यावसाय सहर केन्द्रित हुँदा ग्रामीण समुदायका नागरिकमा यसको महत्व समेत जानकारी नभएको बीमा प्राधिकरणले बताएको छ ।

Loading...