सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले गरे मन्त्रीमण्डल विस्तार

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रदेश सरकार जोगाउने प्रयास स्वरुप मुख्यमन्त्री शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गरेका हुन् । चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन् । उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन् ।

चौधरीले थारु भाषामा शपथ लिएका थिए । यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल ८ सदस्यीय बनेको छ । गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका थिए । मुख्यमन्त्री शाहले यसअघि संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, प्रमुख सचेतक खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नागरिक उन्मुक्तिकै कैलाश चौधरी रहेका थिए । यति गर्दा पनि प्रदेश सरकार भने अल्पमतमै छ । माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा माओवादीका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन् । मुख्यमन्त्री शाहलाई अहिले सम्म आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यको मात्रै समर्थन रहेको छ ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुगाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथ रहँदा पनि मुख्यमन्त्री शाहले बहुमत पाउन सक्ने अवस्था छैन् । तर, सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र एक जना र राप्रपाका १ जना सांसद छन् । उनीहरूको साथ पाए मुख्यमन्त्री सुरक्षित हुने देखिएको छ ।

Loading...