विद्यालयमा लगाइएको ताला डेढ वर्षपछि खोलियो

बैतडी- बैतडीको एक विद्यालयमा लगाइएको ताला डेढ वर्षपछि खोलिएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित गडदेव आधारभूत विद्यालयको नवनिर्मित भवनमा लगाइएको ताला शनिवार पालिकाका जनप्रतिनिधि, प्रशासन र अभिभावकले खोलेका हुन् ।

गाउँपालिकाले २०७८/०७९ मा विद्यालय व्यवस्थापनसँग ३६ लाखमा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतको ४ कोठे भवनको लागि सम्झौता गरेको थियो। भवन निर्माणको जिम्मा पाएका केशव सिंह घटालले ६७ लाख लागत लागेको र भुक्तानी नपाएको भन्दै ताला लगाएका थिए ।

गाउँपालिकाले प्राविधिक मूल्यांकन अनुसारको रकम भुक्तानी दिने भनेपछि ताला खोलिएको बताइएको छ । पालिकाले ५८ लाख लागत लागेको भन्दै सोही अनुसारको विल उठाएको छ भने भुक्तानी ३६ लाख मात्रै भएको छ । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा ताला लागेपछि बालबालिकाहरु खुल्ला चौरमा पठनपाठन गर्दै आएका थिए ।

Loading...