गोदावरी नगरपालिकामा बाढीले ४० परिवार विस्थापित




अत्तरिया, १ साउन- कैलालीको गोदावरी नगरपालिकाका विभिन्न वडाका बस्तीमा बाढी पस्दा ४० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार बुधबार रातिदेखिको अविरल वर्षाले चुरेबाट निस्कने भालुखोला र गोदावरी नदीमा आएको बाढीले वडा १ र ४ का विभिन्न बस्ती जलमग्न भएका छन् ।



भालु खोलाले वनखेतका ४ र बास्कोठाका १० घरमा बाढी पसेको छ । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । ढल निकास नहुँदा गोदावरीे नगरपालिकाको केन्द्र रहेको अत्तरिया बजारसमेत जलमग्न भएको छ । गोदावरीको गेटा मेडिकल कलेज आसपास क्षेत्रका बासिन्दाको घरभित्र पनि स्थानीय खोलाको बाढी पसेको छ ।


वडा १३ गेटाको श्रीलंका शिविरका मुक्त कमैयाको घरभित्र पनि मोहना नदीको बाढी पसेको छ । शिविरका ३० परिवारलाई उद्धार गरेर स्थानीय स्कुलमा राखिएको छ । शिविरमा मोहना नदीको बाढी पसेको हो ।



