कैलालीकाे धनगढीमा आसरा सुधार केन्द्र सञ्चालन

धनगढी- कैलालीको धनगढीमा आसरा सुधार केन्द्र बुधवार देखि सञ्चालनमा आएको छ । लागु औषध दुर्व्यसनीलाई रोख्न कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको हो ।

नेपाल प्रहरी, श्रीमती संघको निगरानीमा सुधार केन्द्र रहने छ । धनगढी उपमहानगरपालिका-१४ फूलबारीमा रहेको भवन सहितका संरचनाहरू प्रहरी श्रीमती संघलाई सुधार केन्द्र सञ्चालनका लागि उपलब्ध गराइएको छ । केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले भवन, फर्निचर, जेनरेटर तथा कार्पेट सहितका सामाग्री सहयोग गरेको छ ।

नगर प्रमुख गोपाल हमालले सुधार केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक सामाग्री सहयोग गरेको बताए । उनले दुर्व्यसनीमा परेका परिवारका सदस्यका कारण घर परिवार तहसनहसन भइरहेको भन्दै सुधार केन्द्र सञ्चालनमा सहयोग गरेको बताए । सुधार केन्द्र सञ्चालनका लागि कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूले आर्थिक सहयोग गर्ने सम्झौता समेत गरेका छन् ।

धनगढीले १० लाख, नगरपालिकाहरूले ५/५ लाख तथा गाउँपालिकाहरूले ३/३ लाखका दरले आसरा सुधार केन्द्र सञ्चालनका लागि प्रहरी श्रीमती संघलाई सहयोग गर्ने सम्झौता छ । उपमहानगरपालिकाले फूलबारीमा रहेको भवन सहितको जग्गा २० वर्षका लागि सुधार केन्द्रलाई उपलब्ध गराएको छ ।

Loading...