सुदूरपश्चिमबाट एक महिनामा लागुऔषध सहित ६६ जना पक्राउ

धनगढी- सुदूरपश्चिमबाट एक महिनामा लागुऔषध सहित ६६ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीले मंसिरमा मात्र लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा ३ महिला र ६४ जना पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट ३८० ग्राम हेरोइन, १० किलो ६ सय ग्राम चरेस र ९१ किलो ५१५ ग्राम गाँजा बरामद गरिएको छ । त्यस्तै १४ एम्पुल रेक्सोजेसिक, १४ एम्पुल फेर्नागन, करिब ४५० ग्राम अफिम पनि प्रहरीले बरामद गरेको छ । सो अवधिमा धनगढी, त्रिनगर, टीकापुर, सत्ती, लम्की मालाखेती क्षेत्रबाट दुई महिला र ३१ पुरुष गरी ३३ जनालाई हेरोइन १७ ग्राम ९० मिलिग्राम र चरेस तीन किलोग्राम ७८० ग्रामसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकी, बेलौरी, बेलडाँडी र त्रिभुवन बस्तीबाट एक महिला र २२ पुरुष गरी २३ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई हेरोइन सात ग्राम ७८ मिलिग्राम, चरेस २२ मिलिग्राम, १४ एम्पुल रेक्सोजेसिक, १४ एम्पुल फेर्नागन र करिब ४५० ग्राम अफिमसहित पक्राउ गरिएको हो । गत महिना डडेल्धुरा सदरमुकाम क्षेत्रबाट ३५० ग्राम हेरोइनसहित चार जनालाई पक्राउ गरिएको छ ।

बझाङको दुर्गाथली र खप्तड छान्ना क्षेत्रबाट ६ किलो ६० ग्राम चरेस र ९१ किलो ५१५ ग्राम गाँजा सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै डोटीको शिखर नगरपालिका-२ कालागाड क्षेत्रबाट चार ग्राम ४१० मिलिग्राम हेरोइन सहित १ जनालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्तिक महिनामा सुदूरपश्चिमबाट ६१ पुरुष र ३ महिला गरी ६४ जनालाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमध्ये २ जना भारतीय नागरिक रहेका छन् ।

Loading...