

डोटी- डोटीमा उद्योग बाणिज्य संघले प्रत्येक महिनाको २ दिन बजार बन्द गर्ने निणर्य गरेको छ । उद्योग बाणिज्य संघका अनुसार हरेक महिनाको १० र २५ गते व्यापार व्यवसाय बन्द हुनेछ ।



सोमवार डोटी उद्योग बाणिज्य संघको आव्हानमा बसेको बैठकमा व्यापारीहरूको आम भेलाले बजार बन्द गर्न दबाव दिएको थियो । डोटी उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले आम व्यापारी बजार बन्दका लागि एकमत भएपछि आउँदो २५ गतेबाट पूणर् कार्यान्वयन हुने गरि संघले निणर्य गरेको बताए ।


पसलमा काम गर्ने संचालक, मजदुर एवम कामदारलाई आराम तथा मनोरञ्जनको आवश्यकता महसुस गरिएकाले महिनामा २ दिन बजार बन्द गरिएको हो । संघले होटल, अस्पताल, मेडिकल, पेट्रोल पम्प , तरकारी पसल जस्ता अत्यावश्यक पसलहरू बाहेक सबै बन्द गर्ने निणर्य गरेको छ ।
उद्योग बाणिज्य संघले पसल खोल्ने व्यापारीलाई २ हजार ५ सय जरिवाना तोक्ने निणर्य समेत गरेको छ । साथै व्यापारी नर बहादुर खड्काको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति समेत गठन भएको संघका वरिष्ठ उपाध्यक्ष प्रेम भण्डारीले बताए ।





