प्रहरी हवल्दार माथि गौरीफन्टा नाकामा भारतीयबाट हातपात

धनगढी– कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारी माथि भारतीय नागरिकले हातपात गरेका छन् ।

प्रहरीको पोशाकमै रहेका ती हवल्दार माथि भारतीय नागरिकले हातपात गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल छ ।

भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए । उनी ३ पुसमा उपचारका लागि भारत जान लागेका भाइलाई गाडी चढाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमिमा गएका थिए ।

सोही क्रममा उनी माथि भारतीय नागरिकले हातपात गरेको बुझिएको डीएसपी डाँगीले बताए । ‘उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै हो भन्ने बुझिएको छ । सुरुमा गलामा हात राखेर कुराकानी गरेको र पछि हातपात गरेको भन्ने कुरा आएको छ’, डाँगीले भने, ‘यो विषयमा थप बुझ्ने काम भइरहेको छ ।’

उक्त घटना ३ पुसको दिउँसो करीब २ बजेतिरको भएको प्रहरीले जनाएको छ । तर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दार माथि हातपात भएको कुरा खुलेको हो । भुल माथि हातपात गर्ने व्यक्ति भारतको पलियाका पियुस गुप्ता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । उनी भुलका चिनजानकै व्यक्ति हुन् ।

प्रहरी स्रोतको भनाइ अनुसार, ‘गुप्ता सीमा क्षेत्रमा आउजाउ गरिराख्थे । दुवै जना बीच चिनजान पनि रहेछ तर त्यो दिन किन हातपात गरे खुल्न सकेको छैन ।’

पुख्र्यौली घर अछाम भएर हाल कैलालीको टीकापुर बस्दै आएका भुल माथि हातपात भएको घटना सार्वजनिक भएपछि उनलाई डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती तानिएको छ ।

भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दैै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Loading...