बासुलिङ्ग चिनी मिलको अनुगमन

कैलाली- सुदूरपश्चिमकै सबैभन्दा ठुलो उद्योगको रुपमा रहेको रुग्ण बासुलिङ्ग सुगर मिलको प्रतिनिधि सभा संसदीय उपसमितिले अनुगमन गरेको छ । रुग्ण अवस्थामा रहेको मिलको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले स्थलगत अनुगमन गरेको हो ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले कञ्चनपुरमा रहेको चिनीमिलको समेत अनुगमन गरेको छ ।

उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठ (किसान) रहेको पाँच सदस्यीय उपसमितिले स्थलगत अनुगमन गरेको हो । अनुगमनको क्रममा उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठ (किसान) ले दुई दशकदेखि बन्द रहेको बासुलिङ्ग चिनी मिल पुनःसञ्चालनका लागि आफूहरु स्थलगत अनुगमनमा आएको बताए ।

चिनी मिल हुँदा यस स्थानीय रोजगारसँग जोडिउको र सयौँ किसानहरू लाभान्वित हुने भएपनि निजी कम्पनीको रुपमा रहेकोले यसको पुनः सञ्चालनका लागि सरकारले के कति सहयोग गर्न सक्ने भन्ने विषयमा छलफल हुने बताए । उनले पहिला यस मिलको सञ्चालकसँग कुरा गरेरमात्र अन्यकुरा अगाडी बढ्ने बताए ।

संयोजक श्रेष्ठले भने, “बासुलिङ्ग सुगर मिल सञ्चालनमा ल्याउन के कस्ता अवरोधहरू छन्, ती अवरोधहरू फुकाउन सरकारलाई दवाव र सुझाव दिन उपसमिति तयार छ । अनुगमनपछि केही न केही रिजल्ट निस्कने गरी काम हुन्छ ।”

Bhancha ghar0

अनुगमन टोलीसँगै भेटिएका कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अरुण चौधरीले बासुलिङ्ग सुगर मिल सञ्चालनको लागी आफूले पटकपटक प्रतिनिधि सभामा आवाज उठाएको बताए । उनले सुगर मिल सञ्चालनको विषयमा सुगर मिलका सञ्चालक अरुण चन्दसँग भेटघाट समेत भएको जनाउदै सांसद चौधरीले मिल सञ्चालन भएको खण्डमा यस क्षेत्रमा रोजगारीका ढोकाहरू खुल्ने बताए ।

सरकार पक्षबाट केही कुरा खुकुलो पार्न सक्यो भने मिल सञ्चालन गर्न त्यस्तो अप्ठ्यारो नहुने अरुण चौधरीको भनाइ छ । अनुगमनको क्रममा उपसमिति सदस्यहरू कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ, लम्किचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही, वडाका जनप्रतिनिधि र स्थानीयहरूको सहभागिता थियो ।

५२ विगाहा क्षेत्रफलमा रहेको उक्त चिनी उधोग करिब ८३ करोड लगानीमा २०५४ सालदेखि सञ्चालनमा आएको भएतापनि व्यवस्थापन पक्षको कम्जोरी र माओवादी द्वन्द्धका कारण बन्द भएको जनाइएको छ ।

२०६१ सालमा पहिलो पटक बन्द भएको मिल केही समयपछि सुचारु भयो । सुचारु भएको वर्ष दिन नपुग्दै २०६३ मा बन्द भएको मिल मुलुकमा समृद्धिको कुरा भईरहँदा पनि चिनी उद्योग सञ्चालनमा कसैको ध्यान नगएको स्थानीयको गुनासो छ ।

मिल सञ्चालनका समयमा पाँचसय जनाले प्रत्यक्ष रोजगार पाएका थिए भने २० हजार बढी किसानको रोजगारी मिलसँग जोडिएको थियो । दैनिक २५ हजार क्वीन्टल चिनी उत्पादन गर्ने मिलको क्षमता थियो । सशस्त्र द्वन्द्व चरमोत्कर्समा पुगेका बेला सुरक्षाको कारण दिउँसो मात्र सञ्चालन हुन थालेपछि पूर्ण क्षमतामा सञ्चालन नहुँदा घाटामा जानु र सुरक्षाका कारण मिल बन्द गर्नुपर्ने अवस्था आएको पूर्व कर्मचारीहरु बताउँछन् ।

कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, नेपाल औद्योगिक विकास निगम र कर्मचारी सञ्चय कोषको ५७ करोड २७ लाख ऋण तथा सञ्चालक अरुण चन्दको २५ करोड ६४ लाख गरी करिब ८२ करोड ८१ लाख रुपियाँ लागतमा मिल स्थापना भएको हाल मिलको रेखदेखमा रहेका कर्मचारीको भनाइ छ ।

पूर्व मन्त्री लोकेन्द्र चन्दका छोरा अरुण चन्दले सञ्चालनमा ल्याएको उक्त मिलमा भारतको धामपुर सुगर मिलको पनि लगानी रहेको बताए । ऋण तिर्न नसकेपछि कम्पनी र सञ्चालक बैंकको कालोसूचीमा परेको छ । गोरखापत्रबाट

 

Loading...