अत्तरिया- प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कैलालीको गोदावरी नगरपालिका गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेको छ । आइतबार समितिका सभापति भानुभक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन विश्वविद्यालयको अनुगमन गरेको हो ।




अनुगमनका क्रममा समितिले विश्वविद्यालय भित्र सञ्चालित गेटा अस्पताल सँगै हाल भौतिक संरचना निर्माण गरिरहेको पूर्वाधार विकास समितिको प्रगतिका बारेमा पनि जानकारी लिएको थियो ।







समितिले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति सँग पनि छलफल गरेर विश्वविद्यालयको ऐन लगायतका विषयमा छलफल गरेको थियो ।
अनुगमनका क्रममा बोल्दै समितिका सभापति जोशीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक हाल राष्ट्रिय सभामा छलफलका क्रममा रहेको बताए । उनले शिक्षा मन्त्रालयले तयार पारेको विधेयक मन्त्रिपरिषदबाट पारित भएर राष्ट्रिय सभामा छलफल भइरहेको भएपनि विश्वविद्यालय निर्माणमा केही ढिलासुस्ती भएको महसुस भएर कारण बुझ्न समिति अनुगमनमा आएको बताए ।
उनले विश्वविद्यालयका लागि धेरै संरचना तयार भएकाले यहाँ विश्वविद्यालय सञ्चालन गर्न अब राज्यलाई धेरै भार पनि नपर्ने बताए ।
अनुगमनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका ६ जना सदस्य सहित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, गोदावरी नगरपालिकाका प्रमुख, धनगढी उपमहानगरपालिका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।




