बैतडी- सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले बैतडीका विभिन्न शक्तिपीठहरूमा पूजाआजा र दर्शन गरेका छन् । उनले दोगडाकेदार गाउँपालिका-४ बजगाउँमा रहेको भूमिराज मन्दिरको दर्शन गरेका छन् । एक हप्ताको धार्मिक भ्रमणका क्रममा उनले बिहीवार भूमिराज मन्दिरको दर्शन गरेका हुन् ।




यस अघि बिहीवार नै प्रमुख जोशीले जिल्लाको मुख्य धार्मिकस्थल मेलौली भगवतीको दर्शन गरे । प्रदेश प्रमुख जोशीलाई मेलौली नगरपालिकाको कार्यालयमा स्वागत गरिएको थियो । मेलौली नगरपालिका नगरप्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती बोहरा बिष्ट, मेलौली नगरपालिका वडा नम्बर-९ का वडा अध्यक्ष लोकराज भट्ट, वडा नम्बर-७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, वडा नम्बर-५ का वडा अध्यक्ष भरत पुजारा, मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायक लगायतले प्रदेश प्रमुख जोशीको स्वागत गरेका थिए ।


यही मंसिर ४ गते बैतडी पुगेका प्रदेश प्रमुख जोशीले यसअघि त्रिपुरासुन्दरी भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेका थिए । प्रदेश प्रमुख जोशी बैतडीबाट बिहीवार नै दार्चुला प्रस्थान गरे । त्यहाँ उनले मालिकार्जुन धाममा दर्शन र पूजाआजा गर्ने कार्यक्रम रहेको छ भने जोलजिवी मेलामा सहभागी हुने कार्यक्रमसमेत रहेको छ । प्रदेश प्रमुख जोशी मंसिर १० गते धनगढी फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।




