धान दिवसमा सडकमै रोपाइँ





अत्तरिया, १५ असार– धान दिवसका दिन कैलालीको चुरेको सडकमा रोपाइँ गरिएको छ। चुरे गाउँपालिकाको कार्यालय जोड्ने सडकमा स्थानीयले रोपाइँ गरेका हुन् ।



हिलोका कारण चुरे गाउँपालिकाको कार्यालय रहेको घरखेडासम्म पुग्नै मुस्किल भएको भन्दै स्थानीयले सडकमा रोपाई गरेका हुन् । चुरेका अन्य सडकहरु समेत हिलोका कारण आवत–जावतमा समस्या हुने गरेको छ। सुगम जिल्ला कैलालीको दुर्गम गाउँपालिका चुरेमा सडक हिलाम्मे हुँदा किसानले उत्पादन गरेका बस्तुहरु बजार सम्म पुर्याउन सास्ती भएको छ ।


सहजपुर देखि चुरे गाउँपालिका जाने बाटो असारमा आएर स्तरोन्नती भईरहेका हो । चुरे गाउँपालिका वडा नं. ३ का टीकाराम ढुंगानाले सडक हिलाम्मे हुँदा हिटडुल गर्न समस्या भएको गुनासो गरे । ‘हिउँदे याममा सुख्खा भएका सडक अहिले असारमा आएर डोजर हाल्दा यस्तो भएको हो’, उनले भने । ‘यसले गर्दा स्थानीयहरुले आफुले उत्पादन गरेको बस्तु बजार सम्म पुर्याउन समस्या भएको छ । गाउँपालिकाको वडा नं. १ देखि ४ सम्म उत्पादन भएका तरिकारी, फलफूल बजारमा पुर्याउन समस्या भएको अर्का स्थानीय खगेन्द्र खडायतले गुनासो गरेका छन ।



