दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवि क्षेत्रमा लाग्ने जोलजिवि व्यापार मेलाको तयारी थालिएको छ । मेला मंसिर १ गतेदेखि सञ्चालन हुनेछ । नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको–७ जोलजिवि र भारतको जौलजिवि बजारमा हरेक वर्ष मंसिर १ गतेदेखि मेला लाग्ने गर्छ । काली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुवैतर्फ यो मेला लाग्ने त्यहाँका स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिए ।




स्थानीय सरकारले विगतका वर्षहरु जस्तै यसवर्ष पनि मेला व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरेको छ । जोलजिवि मेलामा मालिकार्जुन गाउँपालिकाले यो वर्ष छ लाख रुपैँया बजेट खर्च गर्ने जनाएको छ । मेला अवधिभर नेपाल भारत जोड्ने जोलजिवि पुल राति साढे १० बजेसम्म खुल्ला गर्ने दुवै देशका अधिकारीहरुबीच सहमति भएको छ ।


सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरी मेलाको शुरुवात गरेको सम्झनामा हरेक वर्ष मंसिर १ गतेदेखि जोलजिवि क्षेत्रमा मेला हुँदै आएको छ । जोलजिवि मेलामा जुम्ला तथा हुम्लाका घोडा, कपडा तथा खाद्यान्नको समेत व्यापार हुने गरेको छ । मेला वर्ष दिनमा लाग्ने भएकाले स्थानीयहरुले कपडा खरिद गर्ने, घरेलु आवश्यक सामान खरिद गर्ने गरेका छन् ।




