धनगढी– जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो ।


जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रो पटक देखि भने बढीमा ९ महिना कैदको व्यवस्था थियो । तर २०७५ साल भदौ देखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ । उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ ।


दोस्रो पटकमा एक वर्ष सम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुणर् चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ । तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन ।

कैलाली र कञ्चनपुरमा जुवातास खेल्ने र खेलाउने समुहको बिगबिगी नै देखिएको छ । यस वर्षको महान चाड बडा दशैं सुरु भएयता कानुनले अपराध मानेको जुवातास खेल्ने र खेलाउने समुह सबै भन्दा बढी कैलाली र कञ्चनपुरमा सक्रिय देखिएको हो । दुबै जिल्लामा कार्यरत प्रहरीले दुई दिनको अवधिमा २० जना जुवाडेलाई जुवाखालबाटै नगदसहित पक्राउ गरेको छ । आइतबार राति मात्र कञ्चनपुरको हल्दुखालबाट ८ जना जुवाडे जुवाखालबाटै पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका-७ हल्दुखाल स्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका-६ ऐंठपुरका ४० वर्षीय पारस भट्ट सहित ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, एक गड्डी तास, मोटरसाइकल ६ थान र स्कुटी एक थान सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश डाँगीले बताए ।
त्यस्तै जुवा खेल्ने र खेलाउने समुहलाई कैलाली प्रहरीले पनि पछिल्लो समय धामधम पक्राउ गर्न थालेको छ । शुक्रबार राति मात्र धनगढीमा जुवाखालबाटै १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित एक टहराबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । साथै जुवाखालबाट १ लाख १ हजार २ सय ६५ नगद र ३ गड्डी तास समेत नियन्त्रणमा लिएको छ ।
जुवाखालबाट धनगढी उपमहानगरपालिका-१३ का ३१ वर्षीय कमल बडायक, ३३ वर्षीय सुवा राना, ३३ वर्षीय राधेश्याम राना, २६ वर्षीय भरत राना, ४९ वर्षीय भरत राना, ४३ वर्षीय राम नन्द राना, ३२ वर्षीय रुपेन्द्र ओझा, २९ वर्षीय शिब कुमार राना, २३ वर्षीय सुरेश राना, ४२ वर्षीय पिरागी राना, ४० वर्षीय नबोध झा र २८ वर्षीय योगेन्द्र महरा पक्राउ परेका हुन् । प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।





