बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले अवैध मदिरा विक्रिवितरण रोक लगाएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै वडाभित्र अवैध मदिराको कारोबारका साथै लागु पदार्थ समेत ओसारपोसार हुने गरेको जानकारी आएकाले त्यसो नगर्न आग्रह गरेको छ ।



अवैध मदिराको कारोबार, लागु पदार्थको ओसारपोसार तथा सेवनले सामाजिक शान्ति सुरक्षामा खलल पुर्याउने भएकाले वडा कार्यालयले त्यसको गरेको पाइएमा कानुनी कारवाही गर्ने चेतावनी समेत दिएको छ ।



यस्तै मादक पदार्थ तथा लागु पदार्थको सेवन गरेर समाजमा होहल्ला गर्नेहरुलाई समेत कारवाही हुने वडाध्यक्ष केशवराज लेखकले बताए । दशरथचन्द नगरपालिका वडा नम्बर ५ को क्षेत्र सदरमुकाम नजिकको क्षेत्र भएकाले यो क्षेत्रमा अवैध मदिरा तथा लागु औषधको कारोबार हुने गरेको गुनासो बारम्बार आउने गरेको छ । सदरमुकाम आसपासका क्षेत्रमा ब्राउन सुगर लगायतका लागु पदार्थ ओसारपोसार र सेवन गर्नेको संख्या बढ्दै गएको स्थानीयहरुको भनाइ छ ।





