झुलाघाट नाकाबाट स्वदेश फर्कने बढे

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढेको छ । बुधवारदेखि नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै स्वदेश फर्कनेको संख्या बढेको हो ।

गएको असोज ९ गतेदेखि ३० गतेसम्म झुलाघाट पुल मर्मतका लागि नाकामा आंशिक रूपमा मात्रै आवतजावत भइरहेको थियो । नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कनेको लर्को लागेको यातायात व्यवसायीहरूले बताएका छन् । दसैँ नजिक आएसँगै नाकामा घर फर्कनेको संख्या ह्वात्तै बढेको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।

बुधवारदेखि दैनिक दुई सय बढी नागरिक झुलाघाट नाका भएर स्वदेश फर्किरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने यो पुरानो नाका भएकाले पनि यो नाकाबाट आवतजावत गर्नेहरूको संख्या बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

Dadeldhura hospital

बुधवार मात्रै नाकाबाट दुई सय २५ जना स्वदेश फर्केका छन् । उनले भने ‘नाकाबाट हिजोदेखि मान्छे आउने क्रम बढेको छ । दसैँका लागि घर फर्कनेका साथै भारतीय दर्शनार्थीहरु समेत नाकाबाट स्वदेश आइरहेका छन् ।’

भारतका विभिन्न शहरमा रोजगारीका लागि पसेकाहरु दसैँका लागि घर फर्कने गरेका छन् । विजयादशमीको दिन नजिक आएका बेला नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको चालक दानबहादुर क्षेत्रीले बताए । उनले भने ‘हिजोदेखि दैनिक नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ । नाकामा भिडभाड बढेको छ ।’
धेरै दिन नाकामा आंशिक रूपमा मात्रै आवतजावत भएकाले पनि हिजोदेखि नाकाबाट स्वदेश फर्कनेको संख्या बढेको हो ।

यस्तै झुलाघाट नाकाबाट बैतडीतर्फ आउने भक्तजनहरू पनि बढेका छन् । दसैँको समयमा बैतडीमा रहेका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरा सुन्दरी, मेलौली लगायतका भगवती मन्दिरमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।

महाष्टमी नजिक आएसँगै नाकाबाट बैतडी आउने भारतीय दर्शनार्थीको संख्या बढेको बताइएको छ । दसैँको समयमा सीमावर्ती भारतीय नागरिक पनि देवीहरूको दर्शनका लागि बैतडी पुग्ने गरेका छन् ।

 

Loading...