झुलाघाट नाका पूर्ण रूपमा सञ्चालनमा

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा थियो।

Dadeldhura hospital

पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्ण रूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियो। पूर्ण रूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म आवागमन हुनेछ।

Navadurga sun
Godawari sandesh

झुलाघाट नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कने नागरिकलाई सहज भएको छ। नाकामा आंशिक रूपमा मात्रै आवतजावत भइरहेका वेला घर फर्कने नागरिकलाई समस्या भएकामा अब झन्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ। नाका पूर्ण रूपमा सञ्चालन भएसँगै दसैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ।

बैतडीका निङगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेवलगायतका मन्दिरमा दर्शनका लागि दसैँको समयमा भारतीय दर्शनार्थीसमेत आउने गरेका छन्। झोलुंगे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो।झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ। यहाँ लामो समयदेखि पक्की पुलको माग गरिँदै आएको छ।

 

Loading...