अनलाइन कक्षाले बालबालिकामा मानसिक समस्या




अत्तरिया, १२ असार– कोरोना महामारीको दोस्रो लहरका कारण विद्यालय बन्द अवस्थामा रहेका छन् । स्थानीय पालिकाहरूले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्याङ्कनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न थालेका हुन् ।


महामारीको विषम परिस्थितिमा विद्यार्थीलाई सिकाइबाट बञ्चित हुन नदिन भन्दै सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन गराउन निर्देशन दिएको छ । निर्देशिकाले अनलाइन, रेडियो, टेलिभिजन, खुला शिक्षाबाट बालबालिकालाई सिकाइसँग जोड्न सकिने उपाय दिएको छ । बजार, सहरी क्षेत्रका अधिकांश बालबालिका अनलाइन कक्षामा जोडिएका छन् ।



एकोहोरो अनलाइन कक्षाले बालबालिकालाई सकारात्मकभन्दा नकारात्मक प्रभाव पार्न थालेको पाइन्छ। ‘अनलाइनले बालबालिकालाई एकोहोरो बनाउँदै लगिरहेको छ । केही सामान चाहियो भने नपाइन्जेल समानको लागि जिद्दी गरिरहने समस्या अधिकांश बालबालिकामा देखिएको छ ।’ अन्तरक्रिया गर्न नसक्ने, घुलमिल हुन नचाहने, बोल्ने बानी कम हुँदै गएको, सम्झने शक्ति कम हुँदै जाने, एकोहोरो एक ठाउँमा धेरैबेर बस्नुपर्ने बानी विकास हुँदै जाँदा अल्छी हुने, ध्यान केन्द्रित गर्न नसक्ने, अनलाइनमा भर पर्ने, जिद्दी गर्ने किसिमका समस्याहरू बालबालिकामा देखिन थालेका छन् ।
अधिकांश विद्यालयहरूले अन्तरक्रिउात्मकभन्दा पनि शिक्षकले पढाएको सुन्ने र नबुझेको सोध्नलाई पनि लेखेर सोध्नुपर्ने बनाएका छन् । शिक्षकले दिएको गृहकार्य, कक्षाकार्य पनि फोटो खिचेर पठाउनुपर्ने हुन्छ । त्यसले गर्दा विद्यार्थीको अन्तर्क्रियात्मक बानी क्षय हुँदै गएको पाइन्छ। ‘अधिकांश विद्यालयले हल्ला हुने भनेर विद्यार्थीको माइक म्युट गरेर शिक्षक, शिक्षिकाले पढाएको एकोहोरो सुनाउने गरेको पाइयो,’ ‘विद्यार्थीले छलफल गर्न त के प्रश्नसमेत गर्न पाउँदैनन् ।
यसले विद्यार्थीको अन्तर्क्रियात्मक बानी शून्य पार्दै लगिरहेको छ ।’ शिक्षक शिक्षिकाले पढाएको कुरा रेकर्ड गर्न, नोटहरू स्क्रिनसट गर्न मिल्छ । त्यसले विद्यार्थीहरूको सम्झना गर्ने शक्ति घटाउँदै लगेको तर्क छ । एकोहोरो स्क्रिनसटनमा हेरिरहन सकिँदैन । जसको कारण यता उता हेर्दा ध्यान पनि त्यतै जान्छ । त्यसले ध्यान पनि विकेन्द्रित हुन जान्छ । अनलाइन कक्षाले बालबालिकाको मनोसामाजिक स्वास्थ्यमा नकारात्मक प्रभाव बढाउँदै लगिरहेको पाइन्छ । अनलाइनले बालबालिकालाई एकोहोरो बनाउँदै लगिरहेको छ ।



