दार्चुला- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गर्ने जनाइएको छ । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्ने बुझिएको छ ।
नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग सामान्य छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् । मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।
यता अतिक्रमित सीमा क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार अनौपचारिक जानकारी अनुसार अतिक्रमित क्षेत्रमा भारतीय प्रधानमन्त्री भ्रमणमा पुगेको जानकारी लिएको र त्यसबाहेक अन्य कुनै जानकारी नआएको बताए । प्रधानमन्त्री मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ ।