बैतडी- बैतडीका स्थानीय तहले आधारभूत तहमा पाठ्यक्रम तयार पारी पठनपाठन गरिरहेका छन्। जिल्लाको शिवनाथ गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको शिवनाथ गापाका अध्यक्ष कर्णसिंह साउदले बताए।




कक्षा १ देखि ३ सम्म आधारभूत तहको पाठ्यक्रम यसअघि नै तयार पारेर प्रयोगमा ल्याइसकेको गापाले कक्षा ४–५ र कक्षा ६–८ को स्थानीय पाठ्यक्रम तयार पारेको जनाएको छ।


‘हाम्रो शिवनाथ’नाम दिएर आधारभूत तहका लागि तयार पारिएको उक्त पाठ्यक्रम चालू शैक्षिक सत्रमै कार्यान्वयनमा ल्याउने उद्देश्य रहेको अध्यक्ष साउदले बताए। विज्ञ समूहले तयार गरेको पाठ्यक्रममा शिवनाथको सामाजिक क्षेत्र, भौगोलिक क्षेत्र, पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र सबै समावेश गरिएको छ।
स्थानीय कला, संस्कृति, भेषभूषा, सामाजिक परिवेश, धार्मिक पर्यटकीय क्षेत्र, प्राकृतिक सम्पदा आदि समेटिएका छन्। साथै सुदूरपश्चिमका विभिन्न संस्कृति, चालचालन, चाडपर्व, धार्मिक सम्पदा, प्राकृतिक सम्पदाका बारेमा पनि वर्णन गरिएको छ। जिल्लाका अन्य स्थानीय तहले पनि पाठ्यक्रम तयार गरेर पठनपाठन थालेका छन्।




