बैतडी- बैतडीका स्थानीय तहमा हालै खटाइएका नयाँ हाकिमहरू धमाधम सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ५ गते यहाँका पाँच स्थानीय तहमा एकैपटक नयाँ कार्यकारी खटाएको थियो । तर, स्थानीय तहमा हाजिर हुन नपाउदै धमाधम सरुवा भइरहेका छन् ।



सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा असोज १ गते हाजिर हुनुभएका कृष्णप्रसाद घिमिरे सरुवा भएका छन् । उनीलाई मन्त्रालयले नुवाकोटको लिखु गाउँपालिका सरुवा गरेको हो ।


यसैगरी, जिल्लाको शिवनाथ गाउँपालिकामा पनि हालै हाजिर हुनुभएका सुशीलकुमार साह सरुवा भएका छन् । उनीलाई कहाँ खटाइएको छ भन्ने खुलाइएको छैन । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले सरुवा भएको अनौपाचारिक जानकारी आएको बताए ।

पञ्चेश्वर गाउँपालिकामा आउने भनिएका नयाँ प्रमुख प्रशासकीय अधिकृत उज्जल आनन्द गाउँपालिकामा हाजिर हुन नपाउदै सरुवा भएका छन् । गाउँपालिकामा हाजिर हुन आउने तयारीमा रहेका प्रमुख प्रशासकीय अधिकृत आनन्द यहाँ पुग्न नपाउँदै सरुवा हुनुभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराले जानकारी दिए । ‘उहाँ आउने भन्ने थियो, यहाँ हाजिर हुन नपाउँदै सरुवा भइसके,’ उनले भने ।
डिलासैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेल पनि हाजिर भएको आठ दिनमै सरुवा भएका हुन् । उनी यही असोज ८ गते पालिकामा हाजिर भएका थिए । उनको पनि मंगलबार सरुवा भएर गएका छन् ।
मन्त्रालयले भदौ ५ गते जिल्लाको सिगास गाउँपालिकामा कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकामा सुशीलकुमार साह, पञ्चेश्वर गाउँपालिकामा उज्जल आनन्द, डिलासैनी गाउँपालिकामा रंजय पटेललाई कार्यकारीको रूपमा खटाएको थियो । दोगडाकेदार गाउँपालिकामा गजेन्द्र प्रकाश थारूलाई नयाँ हाकिमको रूपमा खटाएको हो ।
दोगडाकेदार गाउँपालिकामा रहनुभएका थारूबाहेक नयाँ हाकिमको रूपमा आएका सबैको सरुवा भएको छ । यसरी हाजिर हुन नपाउँदै सरुवा भएपछि कार्यसम्पादनमा समस्या सिर्जना भएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् ।




