दार्चुला- बझाङको तलकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको झट्काले भीरबाट खसेको ढुंगा लागेर बैतडीमा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा डिलाशैनी गाउँपालिका–२ रोपनीबगडकी ११ वर्षीया निरा भण्डारी छिन् ।
लटिनाथ आधारभूत विद्यालय अमरखेतका शिक्षक लोकेन्द्रबहादुर धामीका अनुसार कक्षा–४ मा अध्ययनरत भण्डारी विद्यालय छुट्टी भएपछि घर फर्किरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर बायाँ खुट्टा भाँचिएको छ ।
बालिकालाई तत्काल स्थानीय सेला स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरिएको र स्वास्थ्यकर्मीले खुट्टा भाँचिको बताएको उनले बताए । बालिकालाई थप उपचारका लागि ठूलो अस्पताल लैजानुपर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
त्यस्तै भूकम्पले दार्चुलाको शैल्यशिखर, महाकाली नगरपालिका, नौगाड, मार्मा गाउँपालिकाका विद्यालय भवन, शौचालय, वडा कार्यालय भवन, घरहरु चर्किएको र क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।