दुहुँमा एकल पुरुषलाई पाँच सय मासिक भत्ता

दार्चुला- दार्चुलाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ। पालिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको हो। दुहुँ गाउँपालिकाले सूचना जारी गर्दै भत्ता पाउन उमेर पुगेका व्यक्तिलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ।

गाउँपालिकाले गैरदलितको हकमा ५० वर्षदेखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० वर्ष देखि ५९ वर्ष ननाघेको पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिए। गाउँपालिकाको आव ०८०/८१ को नीति तथा कार्यक्रममा समावेश गरी एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो।

Navadurga sun

भत्ता पाउन उमेर पुगेका एकल पुरुषले नेपाली नागरिकताको प्रमाणपत्र सक्कल, पासपोर्ट साइजको फोटो दुई प्रति, पत्नीको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित वडाको सिफारिस तथा ५० वर्षसम्म विवाह नगरेको एकल पुरुषको हकमा वडाको विवाह नगरेको प्रमाणपत्र उपलब्ध गराउन भनेको छ। ज्येष्ठ नागरिकले संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउँदै आएको भए पनि एकल पुरुषले सामाजिक सुरक्षा पाउन सकेका थिएनन्।

संविधानको मर्मअनुरूप गाउँपालिकाले एकल पुरुषको सामाजिक सुरक्षाका लागि भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुरसिंह बडालले बताए।यसअघि दार्चुलाको अपी हिमाल गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ बाटै एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...