कृषि हाटबजार संरचना प्रयोगविहीन

कैलाली- कृषि हाटबजारका लागि दुई वर्ष पहिले निर्माण सम्पन्न भएको सुविधासम्पन्न भौतिक संरचना हालसम्म प्रयोगमा आउन सकेको छैन ।प्रदेश सरकारको सहयोगमा घेरबारसहित पाँच कट्ठा जमिनमा बनेको गोदाम घरसहित कृषि हाटबजारका लागि बनेको संरचना पायक पर्ने ठाउँमा नभएपछि प्रयोगविहीन भएको बताइएको छ ।

Ganyapdhura gau

जिल्लाको घोडाघोडी नगरपालिका –१ सुखड नजिक बनेको कृषि बजार पायक पर्ने ठाउँमा नभएपछि गत फागुनदेखि हप्तामा दुई पटक सुख्खड बजारक्षेत्रको खुल्ला ठाउँमा हाटबजार लाग्नेगरेको छ ।

Navadurga sun
Godawari sandesh

प्रदेश सरकारको सहयोगमा करिब ६५ लाख लगानीमा घोडाघोडी नगर कृषि बजार निर्माण भएको हो । कृषि हाटबजारका लागि सुविधासम्पन्न भौतिक संरचना निर्माण गरिए पनि प्रयोगमा नआएपछि ताला लगाई थन्किएको अवस्थामा छ ।

राज्यको लगानी उपयोगमा आउन नसकेकोमा स्थानीयबासीले दुःखेसो गरेका छन् । ‘पायक पर्ने ठाउँमा भएको भए खुला ठाउँमा बसेर घामपानी सहेर आफ्नो उत्पादन बेच्न बाध्य हुने थिएन, उपभोक्ताहरु बढी जहाँ आउँछन् त्यही उत्पादन राख्नुपर्छ, अहिले सडक छेउ खुल्ला ठाउँमा बेच्न बाध्य छौं’ स्थानीय कृषक शान्ति चौधरीले बताए ।

२०७६–७७ मा कृषि ज्ञान केन्द्रमार्फत आएको सहयोग अनुदानमा निर्माण समिति गठन गरी घोडाघोडी नगर कृषि बजारका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको तत्कालीन निर्माण समितिका सचिव होम तामाङले बताए ।

Dadeldhura hospital

सुखड बजारसँग जोडिएको खानेपानी र घोडाघोडी क्याम्पसको बीचको जग्गामा निर्माण गर्ने भनिए पनि जग्गा विवादका कारण निर्माणकार्य अन्यत्र सार्नुपरेको थियो । स्थानीय समाजसेवी रणबहादुर बोहराले जग्गा उपलब्ध गराएपछि बजारदेखि केही भित्र निर्माण गरिएको जनाउँदै स्थानीय लक्ष्मीप्रसाद भट्टराईले नम्बरी र ऐलानी जग्गामा बनेको हाटबजार भवन सरकारले स्वामित्वमा नलिंदा अलपत्र अवस्थामा रहेको बताए ।

कृषि बजार बनेको लामोसमय बित्दा पनि सञ्चालनमा आउन नसक्नु पायक पर्ने ठाउँमा नभएर हुनसक्ने भट्टराईको भनाइ छ । उनले उक्त ठाउँलाई गोदामको रुपमा प्रयोग गरेर किसानका उत्पादनलाई स्टोर गर्न प्रयोगमा ल्याउनतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

ठूलो लगानीमा कृृषि बजार बने पनि सुखड बजारदेखि डेढ किलोमिटरभित्र रहेको र कृषिउपज सङ्कलन तथा बेचबिखनका लागि पायक पर्ने नभए पनि अन्य कार्यका लागि प्रयोगमा ल्याउन नसक्नु सरकारको कमजोरी रहेको घोडाघोडी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए ।

‘कृषि बजारको व्यवस्थापन नहुँदा किसानले उत्पादन गरेका बस्तु टोकरीमा बोकेर डुलाउदै हिंड्नुपर्ने बाध्यता थियो, हामीले हाटबजार खुला ठाउँमा भए पनि राख्ने व्यवस्था गरेपछि हप्तामा दुई दिन किसानले आफूले उत्पादन गरेको कृषि उपज बेच्न सजिलो भएकोे छ’ सङ्घका अध्यक्ष गौतमले भने ।

२०७५–७६ मा कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट ५० लाख अनुदान र २०७६–७७ मा कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख अनुदानमा पाँच कट्ठा जमिनमा पर्खालसहित कृषि बजारका लागि भौतिक संरचना बनेको बताइन्छ ।

कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्माले सरकारको लगानीको सदुपयोग हुनुपर्ने बताए । उनले प्रदेश सरकारको सहयोगमा कृषि बजार बने पनि त्यसको सञ्चालन रेखदेखको जिम्मा स्थानीय सरकारको भएको उल्लेख गरे ।

घोडाघोडी कृषि शाखाका प्रमुख जनक धामीले कृषि बजार निर्माण भएको जानकारी भए पनि आधिकारिक रुपमा निर्माण सम्पन्न पछि हस्तान्तरण नभएका कारण नगरपालिकाको स्वामित्वमा नलिएको बताए । गोरखापत्रबाट

Couple
Loading...