


दार्चुला- डेंगी संक्रमित बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया बालिकाको उपचारका क्रममा भारतमा मृत्यु भएको राष्ट्रिय माध्यमिक विद्यालयले जनाएको छ ।



कक्षा ९ मा पढ्ने छात्रा जेलिना चैसिरको डेंगी संक्रमणपछि उपचारका लागि भारतस्थित हल्द्धानी अस्पतालमा लगिएको विद्यालयका प्रधानाध्यापक राजेश सामन्तले बताए ।


चैसिरलाई सामान्य ज्वरोपछि जिल्ला अस्पतालमा जाँच गर्दा डेंगी संक्रमण देखिएको उनले बताए । त्यसपछि उनलाई उपचारका लागि भारत लगेको थियो ।
प्रधानाध्यापक सामन्तका अनुसार डेंगी संक्रमणपछि जिल्ला अस्पतालमा उपचार भएको थियो । उनमा केही सुधार भएको र अस्पतालबाट घर आएपछि थप ज्वरो आउँदा भारतको हल्द्धानी उपचारका लागि लगिएको थियो । चैसिरको शनिबार अस्पतालमै मृत्यु भएको उनले बताए । राष्ट्रिय मावि दत्तुले आइतबार एक दिन शोक बिदा गरेको छ ।





