दार्चुला — नेपाल-भारत सीमा नदी महाकालीमा पानीको सतह बढेको छ । माथिल्लो क्षेत्रमा बिहानबाट वर्षा भएकोले बुधबार मध्याह्नदेखि महाकालीमा पानी सतह बढेको हो ।




महाकाली नगरपालिका-९ स्थित दत्तुमा रहेको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


सदरमुकाम खलंगाको बङ्गाबगर क्षेत्रमा निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ । तटबन्ध माथि पानी आउने खतरा बढेको स्थानीय चक्रबहादुर बमले बताए । आज दिउँसो ११/१२ बजेबाट महाकालीमा पानीको सतह बढेको छ । अहिले पनि बढ्दै गएको उनको भनाइ छ ।
महाकाली नदीमा पानीको बहाव बढ्दै गएकाले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।




