धनगढी- कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट लागु औषधसहित चार जना पक्राउ परेका छन्। दुई जिल्लाबाट बुधवार चार जना लागु औषधसहित पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ त्रिनगर ब्यारेलबाट पाँच ग्राम लागुऔषसहित रमेश राना पक्राउ परेका छन्।


अछामको मंगलसेन नगरपालिका वडा नम्बर १ घर भएका राना धनगढीको बसपार्कमा कोठामा बस्दै आएका थिए। २३ वर्षीय रानालाई लागु औषध नियन्त्रण ईकाइ महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले पक्राउ गरेको हो।



यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलन चोकबाट सात सय मिलिग्राम लागु औषधसहित २५ वर्षीय विज्ञान बस्नेत पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाँडीका बस्नेत बुधवार दिउँसो पक्राउ परेका हुन्। प्रदेश प्रहरीका अनुसार लागुऔष नियन्त्रण ईकाइ महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ बनारापुलबाट ४८ ग्राम लागु औषधसहित २८ वर्षीय तेजबहादुर राना र अर्जुनबहादुर राना पक्राउ परेका छन्। तेजबहादुरको घर सोही ठाउँ हो भने अर्जुनको घर अत्तरिया हो।
ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट कलुवापुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।





