दार्चुला- नेपाली सेनामा जागिर लगाई दिने भन्दै विभिन्न व्यक्तिहरुबाट रकम असुल गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सात जनाबाट विभिन्न समयमा आर्मी बनाउँछु’ भनी ठगीमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान चलाएको दार्चुला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेयले बताए ।
पक्राउ पर्नेमा महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र २१ वर्षीय ईश्वर महर, वर्षीय ४४ का बिशनसिंह नगाल, वर्षीय २७ को रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालिकाटोल बस्ने ३४ वर्षीय शंकर भूल छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–३ बस्ने श्यामसिंह धामीलगायतका सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी पाण्डेयले बताए । उनका अनुसार नरेन्द्रसिंहले आफू नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत रहेको र सेनामा भर्ना गरिदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
‘रकम असुलेका व्यक्तिहरुलाई फाराम पनि भर्नुपर्दैन । तालिमका क्रममा भागेका व्यक्तिहरुको ठाउँमा राख्ने आश्वासन दिलाएर ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी पाण्डेयले भने । पक्राउ परेकाहरुको खाता नम्बर र ई-सेवामा रकम जम्मा भएको पाइएको छ ।
आरोपितहरुले विभिन्न व्यक्तिबाट ५० हजारदेखि तीन लाख १० हजार रुपैयाँसम्म असुलेका छन् । उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
