वर्षाका कारण डाेटीका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध

डोटी- केही दिनदेखिको अविरल वर्षाका कारण डोटीका ग्रामीण सडकहरू ठाउँठाउँमा अवरुद्ध भएका छन् । सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि गाडी सञ्चालनमा समेत अवरोध भएको छ ।

घोरेटो बाटोसमेत पहिरोले अवरुद्ध बनाएपछि एक गाउँबाट अर्को गाउँ जानका लागि समस्या भएको स्थानीयवासी बताउँछन् । वर्षाका कपल्लेकी, गड्सेरा, मुड्भारा धुर्कोट, चवराचौतारा, नापानी, जोरायल गड्सेरा, वीपीनगर गड्सेरा सडक अवरुद्ध भएको जोरायल गाउँपालिका–५ का कर्ण बोगटीले बताए ।

यहाँका ग्रामीण सडकहरूमा बर्खा शुरु हुनासाथ पहिरो खस्ने र गाडी सञ्चालनमा समस्या आउने गरेको छ । वर्षौँ पहिले खनिएका ग्रामीण सडकहरूको स्तरोन्नतिका लागि पहल हुन नसक्दा बर्खामा समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।

वर्षाका कारण ग्रामीण सडकहरूमा गाडी चल्न बन्द भएपछि गाउँमा दैनिक उपभोग्य वस्तु पाउन मुस्किल पर्न थालेको केआईसिंह गाउँपालिका–५ रानागाउँका सुरेन्द्र शाहीले गुनासो गरे । वर्षाका कारण यहाँका ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा पहिरो आउँदा गाडी चलाउनै नमिल्ने भएको शैलेश्वरी यातायातका प्रमुख प्रेम रावलले जानकारी दिए ।

वर्षाले सडकमा गाडी चल्न बन्द भएसँगै सदरमुकाम सिलगढीसँग यहाँका गाउँघरको सम्पर्कविच्छेद भएको जोरायल गाउँपालिका–५ गड्सेराकी दुर्गादेवी विष्टले बताइन् ।

गाउँगाउँमा सडक पुर्‍याउने होडबाजी चलेका कारण जथाभाबी खनिएका सडकमा वर्षाको समयमा समस्या उत्पन्न हुने गरेको छ । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगका उपभोक्ता समितिमार्फत जथाभाबी सडक खन्ने गरे कारण समस्या आउने गरेको स्थानीयको आरोप छ ।

 

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.