दार्चुला- दार्चुलाका दुई होटलमा युवाहरूबीच कुटाकुट हुँदा चार जना घाइते भएका छन् । जिल्ला सदरमुकाम खलंगास्थितको वेलकम रेष्टुरेन्ट एण्ड बार र अपि होटल एण्ड रेष्टुरेन्टमा चार जना युवाहरुबीच एक आपसमा विवाद हुँदा कुटाकुट भएको हो ।



घाइते हुनेमा राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष अनिल सिंह ठगुन्ना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, महाकाली नगरपालिका–१ मलेराका प्रकाश सिंह कार्की र सोही ठाउँका अर्का प्रकाश सिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।



सोमवार दिउँसो सुरुमा घाटबजारस्थितको वेलकम रेष्टुरेन्टमा विवाद हुँदा उनीहरुबीच झडप भएको थियो । त्यहाँको झडपमा द्वय प्रकाश सिंह कार्की कुटिएका थिए ।
त्यहाँको झडप साम्य भएपछी पुनस् एनआइसी एशिया बैंक नजिकको अपि होटल एण्ड रेष्टुरेन्टमा बदलास्वरुप उनै युवाहरू बीच झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा बियरका बोतल प्रहार गर्दा चारै जना घाइते भएका छन् । घाइते उनीहरुको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि धनगढीका लागि पठाइएको छ ।
घाइते मध्ये अनिल सिंह ठगुन्ना र प्रकाश कार्कीको टाउकोमा चोट लागेको छ भने प्रकाश सिंह कार्की र चरनसिंह बुढाथोकीको हात र शरिरमा चोट लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले घटना बारे अनुसन्धान गरिरहेको छ ।

