भागरथी हत्या प्रकरणः दिनेशको डिएनए काठमाडौं पठाइयो


बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ । डिएनए परीक्षणका लागि रगत लगायत आवश्यक वस्तु काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।



डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले प्रारम्भिक बयानमा दिनेशले बलात्कार गरेको स्वीकार गरिसकेको बताएको छ । यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइए पनि परीक्षण रिपोर्ट भने अझै आएको छैन ।


गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नपुगेपछि आफन्तले खोजी गरेका थिए । खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा उनको शव फेला परेका थियो । घटनामा संलग्न रहेको आरोपमा गत प्रहरीले फागुन ५ गते दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।



