

धनगढी- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् ।



प्रदेशसभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्र्दभिक नभएकाले संशोधन गर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन् ।


‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहान्छु, लोगो मात्र फेरिएर हुँदैन,’ चौधरीले भने, ‘प्रदेशको नामाकरण पनि फरिनुपर्छ । सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ । नाम संशोधन गरिनुपर्छ । यहाँको समुदाय र संस्कृती झल्किनेगरी खप्तड थरुहट प्रदेश राख्नुपर्छ ।’
सुदूरपश्चिम प्रदेशसभाको लोगो सान्र्दभिक नभएको भन्दै प्रदेशसभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा संशोधन समिति गठन गरिएको छ ।