विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु, विद्या भूषणको विजयी सुरुवात





अत्तरिया- धनगढीमा शनिबारदेखि सुरू भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सिजन-५ मा विद्या भूषणले विजयी सुरूवात गरेको छ । संघीय प्रहरी इकाई कार्यालयको मैदानमा भएको उद्घाटन खेलमा धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटामा रहेको विद्या भूषणले विजयी सुरूआत गरेको हो । टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन बनायो ।


लिटल फ्लावरका लागि सुवास ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए। बलिङमा विद्या भूषणका शेर मल्लले ३, वीरेन्द्र नाथ र प्रदीप चन्दले २/२ तथा सञ्जय केसीले १ विकेट लिए ।
१ सय ५३ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।



विद्या भूषणका सुरूआती ब्याट्सम्यान शेर मल्ल र वीरेन्द्र नाथले १ सय २२ रनको साझेदारी गरे ।
मल्लले ७० र नाथले ३७ रन बनाए । नरेन साउदले अविजित रहँदै २६ रन बनाए । लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए ।
लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा सुरू भएको प्रतियोगिता फागुन २९ गतेसम्म चल्ने छ । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको शाहीले जानकारी दिए । काठमाडौं र कञ्चनपुरका २/२, रुपन्देही र दाङका एक/एक र कैलालीका १० विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
यस्तै, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५/५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।



