बजेट अभावमा ओझेलमा दार्चुला–टिङ्कर सडक

दार्चुला- दार्चुला जिल्लाको लाइफलाइनका रूपमा हेरिएको महाकाली कोरिडोर अन्र्तगत निर्माणाधीन दार्चुला–टिङ्कर सडक बजेट अभावका कारण ओझेलमा परेको छ। पहिलो प्राथमिकतामा रहेको यो सडकका लागि बजेट थप्नुको सट्टा कटौतीमा परेपछि निर्माण कार्यमा चुनौती थपिएको हो।

स्थानीय राजनीतिक पार्टी तथा प्रशासनिकस्तरबाट बजेट थपका लागि पटक पटक माग भए पनि उल्टै घटेर आएको हो। सङ्घीय सरकारले पर्याप्त बजेट नदिँदा आर्थिक, व्यापारिक, धार्मिक र पर्यटकीय महत्व बोकेको टिङ्कर सडकले गति लिन सकेको छैन।

Navadurga sun
Godawari sandesh

भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रनजिकका छाङरु र टिङ्कर गाउँ भएर चीनको सीमासम्म जोड्ने दार्चुला–टिङ्कर सडक निर्माण कार्य गत पुस महिनादेखि सुस्त गतिमा भइरहेको छ।

नेपाली सेनाले निर्माण गरिरहेको सो सडकका लागि बजेट अभाव हुँदा निर्माण कार्यले गति लिन नसकेको भनाइ सम्बद्ध अधिकारीहरूको छ। बर्सेनि बजेट घटेर आउने गरेकाले लक्ष्य अनुसार काम हुन नसकेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले बताए ।

चालु आर्थिक वर्षमा दुई किलोमिटरमा ट्र्याक खोल्ने र डेढ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य करिब पूरा भइसकेको उहाँले बताउनुभयो। कडा चट्टानी भिर काटेर सडक निर्माण गर्नुपर्ने भएकाले थोरै सडकमा धेरै लगानी गर्नुपर्ने अवस्था आएको भनाइ सेनाको छ।

Dadeldhura hospital

चालु आर्थिक वर्ष २०७९र८० मा टिङ्कर सडक निर्माणका लागि सरकारले साढे नौ करोड बजेट सेनालाई उपलब्ध गराएकामा सो बजेट हिउँदमै सकिएको बताइएको छ। सेनाले टिङ्कर सडक निर्माणका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपियाँ सरकारसँग माग गरेकामा साढे नौ करोड मात्रै पाएको थियो।

सरकारबाट पर्याप्त बजेट उपलब्ध नभएपछि गत पुस २६ देखि सडक निर्माणमा संलग्न दुई सयभन्दा बढी कामदार घर फर्किएका छन्। व्यास गाउँपालिका–३, तुसारपानी र वडा नम्बर २ दुम्लिङको चट्टानी भागमा सडक निर्माणको कार्य भइरहेको छ।

आव २०७७र७८ मा डिपिआर संशोधन, क्याम्प स्थापनालगायतका प्राविधिक कार्य गरिएकामा आव २०७८/७९ देखि सडक निर्माण सुरु गरिएको हो। गत वर्ष २० करोड रुपियाँको बजेटमा तुसारपानीदेखि दुम्लिङसम्मको आठ किलोमिटर लामो सडक निर्माण गरिएको थियो।

यो वर्षको सुरुमै न्यून बजेट आयो, विनियोजित बजेट सकिएपछि थप बजेटको माग गर्दा सम्बोधन नभएको सैनिक अधिकारीले बताएका हुन्। यद्यपि सूचना अधिकारी भण्डारीले भने सरकारले दिएको बजेटका आधारमा लक्ष्य निर्धारण गरेर काम भइरहेको बताए । बढी बजेट प्राप्त भएमा काम पनि बढी गर्न सकिने उनको भनाइ छ।

सडक निर्माण कार्य पूर्ण रूपमा बन्द गर्दा गलत सन्देश फैलिने भन्दै सेनाले सुस्त गतिमा काम गरिरहेको जानकारहरू बताउँछन्। आगामी आर्थिक वर्षको यकिन बजेट प्राप्त हुन बाँकी भए पनि महाकाली कोरिडोरमा बजेट घटेकाले टिङ्कर सडकमा समेत बजेट घट्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन्।

अहिलेकै गतिमा सडक निर्माण हुने हो भने टिङ्करसम्म सडक विस्तार गर्न ३० वर्ष लाग्ने व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताउनुभयो। सङ्घीय सरकारसँग टिङ्कर सडकमा बजेट थप्नका लागि पटक पटक माग गर्दासमेत सुनुवाइ नभएको उनको गुनासो छ।

Loading...