स्थानीय सरकारलाई बजेट निर्माणको चटारो

धनगढी- कैलालीका स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट असारमा सार्वजनिक गर्नेगरी स्थानीय तहहरू बजेट बनाउने काममा जुटेका हुन ।

जिल्लामा १३ वटा पालिका छन् । जसमध्ये कतिपय पालिकाले वडामा बजेटको सिलिङ लगिसकेका छन् भने कतिपयको सिलिङ बन्दैछ । गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले वडाहरूमा बजेटको सिलिङ पुगिसकेको बताए । उनले भने, ‘टोल भेला भइसकेका छन् । वडा परिषद् पनि सकिएको छ । बजेटको सिलिङअनुसार योजना छनोटको काम भइरहेको छ ।’

अधिकांश भू–भाग तराई र केही भू–भाग पहाडी क्षेत्र रहेको कैलालीका पालिकाहरूमा कतिपय निकै भिन्न र धेरैजसो एकैखाले समस्या छन् । समस्याअनुसार जनताबाट योजना माग हुने गरेको छ । खासगरी बाटोघाटो, तटबन्ध, ढल, पुल पुलेसा निर्माणका योजना जनताबाट माग हुनेगरेको छ ।

जनताको मागअनुसार नै योजना छनोट गर्ने र बजेट बनाउने गरिएको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले बताउनुभयो । उहाँले सङ्घको बजेटको प्रतीक्षामा रहेको उल्लेख गर्नुहुँदै सिलिङ बनाउने काम भइरहेको बताए ।

‘हामी बजेट निर्माणको सुरसार गर्दैछौ’ प्रमुख थारुले भने, ‘यद्यपि, सङ्घको बजेटको प्रतीक्षामा छौँ । त्यहाँबाट कस्तो बजेट आउँछ । त्यसपछि सोहीअनुसार अगाडि बढ्ने कार्य हुन्छ ।’

टीकापुरमा पर्यटन, पर्यावरणका सम्भावनालाई जोडेर आगामी आर्थिक वर्षमा अगाडि बढ्ने र त्यस्ता योजनालाई प्राथमिकतामा राख्ने जनाइएको छ । सहर, बजार र ग्रामीण क्षेत्रलाई जोड्ने योजना, कृषि उत्पादनलगायतलाई नगरपालिकाले प्राथमिकतासाथ अगाडि बढाउने डङ्गौराको भनाइ छ ।

बजेट निर्माणका लागि विभिन्न पालिकामा तल्लोस्तरमा भेला, छलफल भइरहेका छन् । छलफलबाट आएका योजनालाई प्राथमिकतासाथ समेट्ने जनाइएको छ । भजनी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा ३ का वडा अध्यक्ष विक्रम चौधरीले अहिले वडास्तरमा टोल भेलाहरू भइरहेको जानकारी दिए ।

‘योजना छनोटको काम भएको छैन’ उनले भने, ‘सिलिङ नआएकाले योजना छनोटको काम अहिले नभएको हो । बजेटको सिलिङ आएपछि यो कार्यलाई अगाडि बढाउँछौँ ।’ जिल्लाको पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट बनाउने सुरसार थालेको छ । अहिले वडाहरूले योजना तर्जुमाको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।

सङ्घको बजेट वक्तव्य पर्खेको उल्लेख गर्नुहुँदै सङ्घीय बजेट सार्वजनिक भएपछि पालिकाले बजेट निर्माणको काम अगाडि बढाउने चर्चा गर्नुभयो । कतिपय पालिकामा भने वडास्तरमा योजना सङ्कलनको काम सम्पन्न भइसकेको छ । सिलिङ नपुग्दै सबै वडाबाट योजना सङ्कलन भइसकेको कैलारी गाउँपालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष दीपेन्द्र बमले बताए ।

‘सिलिङ अहिलेसम्म आइपुगेको छैन । तर योजना सङ्कलन भइसकेका छन्” उहाँले भन्नुभयो, “बजेट निर्माणको सवालमा राजस्वलगायत अन्य समितिको बैठक बसाउने काम भइरहेको छ ।’ सङ्घ र प्रदेशले वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेपछि असार १० गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम घोषणा गर्ने व्यवस्था छ । गोरखापत्रबाट

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.