

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसद्बाट पारित गर्ने बताएका छन् ।


राष्ट्रिय बेपत्ता स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्य निरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडोभन्दा चाँडो निस्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।



संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई संघीय संसद्को चालु अधिवेशनबाटै पारित गर्ने लेखकको भनाइ थियो । संघीय संसद्मा बजेट अधिवेशन चलिरहेको छ ।
‘अहिले यो विधेयक संसद्मा दर्ता भएको छ । संसद्बाट हामीले समितिमा पठाएका छौं । समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ,’ उनले भने, ‘यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ ।
हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ । बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्य निरुपणको सवाल, मेलमिलापको सवाललगायतका जति पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र यो विधेयक छन्, चाँडोभन्दा चाँडो हामी टुंगोमा पुर्याउनेछौं ।’ विधेयक पारित भएपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय राम्रोसँग सम्पादन गरिने पनि लेखकको भनाइ थियो ।