

काठमाडौं- गत १५ जेठमा जोमसोममा दुर्घटना भएको तारा एयरको बारेमा अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ। विमान प्राविधिक र मौसमीभन्दा पनि मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ। खराब मौसमको जानकारी हुँदाहुँदै भीएफआर उडान भर्दा डाँडामा गएर ठोक्किएको भनिएको छ।


तारा एयरको ९ एन–एईटी ट्विनअटर विमान जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिकास्थित सानुसरे भिरमा ठोक्किएको थियो। उक्त विमानमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी २२ जना सवार थिए। दुर्घटना भएको करिब ११ महिनामा आयोगले अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो। यसअघि खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष थियो।



आँखाले देखेर भर्ने उडानमा (भीएफआर) मा विमान खराब मौसममा उड्नु हुँदैन। भिजिबिलिटी कम्तीमा ९ किलोमिटर हुनुपर्छ। यस्तै भीएफआर जहाज बादलभित्र पस्न नै नहुने जानकार बताउँछन्। तारा एयरको यो उडानमा खराब मौसममा जहाज उडेको थियो। बादलभित्रबाट नै उडान भरेको रिपोर्टले देखाएको छ। भीएफआर जहाजको बादलसँगको दूरी दायाँबायाँ १५ मिटर र तलमाथि ३ सय मिटर टाढा हुनुपर्छ।
मौसमी खराबीको समयमा अन्दाजी उडान भर्दा विमान खसेको प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनको ३.२ मा लेखिएको छ, ‘‘यस दुर्घटनाको सम्भावित कारण विमानको टेरेन एभोइडेन्स र चेतावनी प्रणाली (टीएडब्लूएस) बन्द गर्दा मौसम कस्तो छ र डाँडा कति नजिक छ भन्ने जानकारी पाउन सकिएन। यसले गर्दा उचित मार्ग अनुगमन र विमानलाई नियन्त्रण गर्न चालक दल असफल भयो र विमान दुर्घटना भयो।’’
यस्ता दुर्घटना नदोहो¥याउनका लागि टीएडब्लूएसलगायतका उपकरणको प्रयोगलाई अनिवार्य गर्ने, यी उपकरणमा केही समस्या आउने बित्तिकै जानकारी गराउँदा मर्मत गर्नेलगायतका सुझाव दिइएको छ।





