गोदावरी–१ चैतन्यपुरमा सातदिने शारदीय नवरात्रि दुर्गा पूजा तथा रामलीला कार्यक्रम सुरु

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरस्थित नवदुर्गा भगवती मन्दिर समितिको आयोजनामा शारदीय नवरात्रि दुर्गा पूजा, रामकथा, रामलीला तथा शृङ्गारिक महाआरती कार्यक्रम सुरु भएको छ। असोज २५ गतेदेखि सात दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक गतिविधिसहित आयोजना गरिएको हो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर महराको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहनुभएको थियो। कार्यक्रममा तुलसी गिरी महाराज र गोदावरी नगरपालिका–१ का वडा सदस्य गम्भीर साउद विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

Navadurga sun

कार्यक्रममा प्रमुख कथावाचक अच्युत शरण महाराज रहनुभएको छ। मन्दिर व्यवस्थापन समितिका सल्लाहकार यज्ञराज कापडीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने संस्थाका सल्लाहकार तथा कार्यक्रम संयोजक उत्तम महाराजले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोकायाले मन्दिरमा आयोजना गरिएको रामलीला तथा धार्मिक कार्यक्रमले नयाँ पुस्तालाई धार्मिक अनुशासन, नैतिकता र भगवान् रामको आदर्श जीवनबाट प्रेरणा लिन सिकाउने बताउनुभयो। उहाँले समाजमा आपराधिक गतिविधि बढ्दै गइरहेको अवस्थामा यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले सकारात्मक सोचको विकास गर्दै सामाजिक विकृति न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन मन्तव्य राख्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर महराले कार्यक्रमबाट संकलित रकम मन्दिरको विकास तथा विभिन्न सामाजिक कार्यमा खर्च गरिने जानकारी दिनुभयो।

सात दिनसम्म सञ्चालन हुने यस धार्मिक कार्यक्रममा दुर्गा पूजा, रामकथा, रामलीला तथा शृङ्गारिक महाआरतीलगायतका गतिविधि सञ्चालन हुनेछन्। आयोजकले यस्ता कार्यक्रमले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...