गन्यापधुराको नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ। ६ करोड ५३ लाखभन्दा बढी लागतमा निर्माण भएको तीन सभाहल र ३६ कोठासहितको आधुनिक भवनको आइतवार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरे।

गाउँपालिकाको वडा नम्बर २ गणेशपुरमा निर्माण गरिएको भवनको रिबन काट्नुका साथै शिलालेख अनावरण गरेर उद्घाटन गरिएको हो। वडा नम्बर २ का अध्यक्ष मनोज देउवाका अनुसार यसअघि भाडाको घरबाट प्रशासनिक सेवा दिँदै आएको गाउँपालिकाले गत वर्षदेखि कृषि तथा पशु सेवाको एकीकृत भवनबाट सेवा सञ्चालन गर्दै आएको थियो। आफ्नै प्रशासकीय भवन निर्माण भएसँगै सेवाग्राहीलाई सहज हुने र प्रशासनिक कामकाज थप व्यवस्थित हुने गाउँपालिका अध्यक्ष कार्कीले बताए।

Navadurga sun

उनका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, सिँचाइ, खानेपानी तथा कृषि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। पाँच वटा वडा रहेको गाउँपालिकाका चार वटा वडामा आफ्नै वडा कार्यालय भवन निर्माण भइसकेका छन्। गाउँपालिकामा एमबिबिएस चिकित्सकसहितको १० शय्याको आधारभूत अस्पताल र दुई वटा शीतभण्डारसमेत सञ्चालनमा रहेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार प्रशासकीय भवन निर्माणका लागि २०७८ पुस २२ गते ठेक्का सम्झौता भएको थियो। वि.सं. २०८१ पुस २० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सङ्घीय सरकारबाट साझेदारीबापतको बजेट समयमै प्राप्त नहुँदा निर्माण कार्य करिब दुई वर्ष ढिलो भएको उनले बताए।

भवन निर्माणका लागि छ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो। गाउँपालिकाको नाममा रहेको ११ रोपनी जग्गामध्ये आठ रोपनी क्षेत्रफलमा प्रशासकीय भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले जानकारी दिए। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...