कठमाडौं- आज भइरहेको तीन जिल्लाको तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि उम्मेदवारले आफूलाई मत दिन पाउने छैनन् ।
तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा.स्वर्णिम वाग्ले बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडेका छन् । उनले आफैँले भने मत खसाल्ने छैनन्। उनको मतदाता नामावली काठमाडौंमा छ।
त्यसैगरी सो पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछाने र अर्का उम्मेदवार बारा २ का रमेश खरेल पनि बिहान ७ बजेदेखि मतदान स्थलतीर घुमफीरमा छन्। उनीहरूको पनि मतदाता नामावली काठमाडौंमा छ।
उनीहरू आफैँले आफैँलाई भोट खसाल्ने छैनन्। उता जसपा अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादवको पनि मतदातामा नाम मोरङमा छ। उनी पनि आफूलाई मत दिन नपाउने उम्मेदवार हुन्। उनी निर्वाचन क्षेत्र बदल्दै हिंडेपनि भोट दिने नामावली भने पुरानै जिल्लामा छ।
यता चितवन २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको पनि नामावली चितवन ३ मा छ। उनी पनि आफैँलाई मत दिनबाट वञ्चित हुनेछन्। उनको स्थायी ठेगाना चितवन ३ माडी हो।
