सुदूरपश्चिमका चार पहाडी जिल्लामा पुग्यो पुस्तक, अन्य जिल्लामा कहिले पुग्ला

धनगढी– सुदूरपश्चिम प्रदेशको चार पहाडी जिल्लामा पाठ्यपुस्तक पुगेको छ । सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकमध्ये ८० प्रतिशत पाठ्यपुस्तक प्रदेशमा आइपुगेको हो । सुदूरपश्चिम प्रदेशका बाजुरा, दार्चुला, बझाङ र अछाममा सुरुमा पाठ्यपुस्तक पुगाइएको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ ।

अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक आएर सम्बन्धित जिल्लामा धमाधम ढुवानी भइरहेको प्रादेशिक कार्यालयले जनाएको छ। केन्द्रमार्फत कक्षा ६ देखि १२ कक्षासम्मको पुस्तक वितरण भइरहेको छ । १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक भने निजी प्रकाशनले ढुवानी गरिरहेका छन् । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हात-हातमा पाठ्यपुस्तक पुर्‍याउने सरकार र केन्द्रको नीति अनुरुप विभिन्न जिल्लाहरुमा पुस्तक पठाइरहेको केन्द्रका धनगढी प्रमुख ध्रुवराज पन्तले बताए ।

Navadurga sun

उनले प्रदेशका हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर चैत २६ गतेबाट पुस्तक सम्बन्धित जिल्लामा पठाउने कार्य भइरहेको बताए । दुर्गम जिल्लाहरु बाजुरा, दार्चुला, बझाङ र अछाममा सुरुमा पाठ्यपुस्तक पठाइएको छ ।

दार्चुला र बाजुराका लागि डेढरडेढ लाख थान पाठ्पुस्तक पठाइएको पन्तले बताए । अछाम र बझाङका लागि भने अझै ढुवानी जारी रहेको बताउँदै शनिबार बिदाको दिन पनि ट्रकमा पुस्तक लोड गरेर पठाएका बताए । वैशाख ४ गतेबाट बैतडी हुँदै अन्य जिल्लामा पालैपालो पुस्तक ढुवानी गरिने जनाइएको छ ।

एक जिल्लामा पुस्तक ढुवानीका लागि दुई दिन छुट्टयाइएको छ । प्रदेशको सात पहाडी जिल्लामा पुस्तक ढुवानी सकिएपछिमात्रै कञ्चनपुर र कैलालीलाई पाठ्यपुस्तक दिइने जनाइएको छ । ‘‘दुवै जिल्लाका लागि वैशाख १० गतेबाट पुस्तक ढुवानी हुन सक्छ’’, प्रमुख पन्तले बताए । प्रदेशमा करिब १८ लाख पाठ्यपुस्तक आवश्यक पर्छ । अब केन्द्रबाट २० प्रतिशतमात्रै पाठ्यपुस्तक आउन बाँकी छ । केही पाठ्यपुस्तक वैशाख ५ गते लोड भएर आउने जनाइएको छ ।

आवश्यकताको आधारमा थप पुस्तक माग गरिरहेको उल्लेख गर्नुहुँदै प्रमुख पन्तले यो वर्ष कुनै पनि पाठ्यपुस्तक अभाव हुने अवस्था नरहेको बताए । ‘‘पाठ्यपुस्तकको अभाव छैन र हुँदैन’’, उनले भने । कुनै पुस्तक कम हुन थालेपछि तीन/चार दिन अगाडि नै माग गर्ने गरेको बताए ।

सुदूरपश्चिम प्रदेशलाई आवश्यकतानुसार पाठ्यपुस्तक पठाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका बजार व्यवस्थापन शाखा प्रमुख चित्रकुमार आचार्यले बताए । उनले थप आवश्यक पर्ने पाठ्पुस्तक माग भएको दुईरतीन दिनभित्रै पुर्‍याउने व्यवस्था गरिएको बताए । ‘‘अपुग किताब २/३ दिनभित्रै पठाइ दिन्छौं’’, उनले भने । प्रदेशको विभिन्न जिल्लामा किताब पुर्‍याउनका लागि हालसम्म १८५ जना व्यवसायी सूचीकृत भएका छन्। दर्ता जारी रहेकाले व्यवसायी संख्या २०० सम्म पुग्ने जनाइएको छ ।

कुनै पनि जिल्लामा सम्बन्धित जिल्लाका व्यवसायीलेमात्रै पाठ्यपुस्तक ढुवानी गर्न पाउने गरेको कैलालीको दाहाल पुस्तक पसलका सञ्चालक ताराप्रसाद दाहालले बताए । उनले अहिलेसम्म पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी भइरहेको उल्लेख गर्दै कैलालीको पालो अलि पछि रहेको जानकारी दिए ।

पहाडी विकट जिल्लालाई प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गर्ने कार्य भइरहेकाले कैलाली र कञ्चनपुरका विद्यार्थीको हातमा भने वैशाख दोस्रो सातामात्रै पाठ्यपुस्तक पुग्ने देखिएको छ । वैशाख १३ देखि १६ गतेकाबीचमा विद्यार्थीले पाठ्यपुस्तक पाउने सूचना पाएको कैलारी गाउँपालिका-४ के गाउँस्थित जनकल्याण माध्यमिक विद्यालय प्रधानाध्यापक हनुमान चौधरीको भनाई छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...