सुदूरपश्चिम प्रदेश सरकारले डोटीमा आगोले जलेर घाइते भएकी लक्ष्मीलाई २ लाख दिने




धनगढी, १९ जेठ- आफ्नै श्रीमानले सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका वडा नं. ४ रोडीकी लक्ष्मी भाट र उनकी छोरीलाई पदेश सरकारले २ लाख दिने भएको छ ।



सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को बुधबारको बैठकले उक्त निणर्य गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूणर् जोशीले जानकारी दिइन् । यसअघि गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आगोले जलेर गम्भीर घाइते भएकी लक्ष्मीको उपचारमा लाग्ने सम्पूणर् उपचार खर्च संघीय सरकारले बेहोर्ने जनाइएको थियो ।


त्यसैगरी घटनामा संलग्न उनका श्रीमान सन्तोष भाटलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गरिने पनि मन्त्रालयले बताएको थियो । जेठ १२ गते राति सुतिरहेको अवस्थामा प्रज्वलनशील पदार्थ छर्किएर आगो लगाई २८ वर्षीया लक्ष्मी गम्भीर घाइते भएकी थिइन् । आगोले आधाभन्दा बढी जलेकी लक्ष्मीलाई उपचारका लागि दिपायल राजपुरस्थित सुजंग अस्पतालमा ल्याइएको थियो ।
अस्पतालले सोही दिन उनको उपचार सम्भव नभएको भन्दै बाहिर लैजान भनेको थियो । तर आर्थिक अभावका कारण आफन्तहरुले उनलाई अन्यत्र लैजान सकेका थिएनन् । सोमबार लक्ष्मीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।



