जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडानको काम अन्तिम चरणमा




बझाङ, १९ जेठ- जिल्ला अस्पताल बझाङमा जडान गरिने अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्टका लागि सुदूरपश्चिम प्रदेशबाट आएको ८० लाख बजेटको व्यवस्थापन गरिएको सोही बजेट रकमबाट अहिले जिल्ला अस्पतालमा अक्सिजन प्लान्टका लागि काम अघि बढाइएको हो । अक्सिजन प्लान्टका लागि जिल्ला अस्पतालमा उपकरण जडानका कार्य भइसकेको बताइएको छ ।


जिल्ला अस्पतालमा जोडिएको विद्युत अक्सिजन प्लान्टका लागि पर्याप्त नभएका कारण सञ्चालनमा कठिनाई भएको जिल्ला अस्पताल बझाङका प्रमुख सन्दिप ओखेडाले जानकारी दिए । अबको एकदुई दिनभित्र नै आवश्यक पर्ने विद्युतका लागि ट्रान्सफर्मर जोडिने र त्यसपछि निरन्तर रुपमा जिल्ला अस्पतालमा दैनिक रुपमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गरिने डाक्टर ओखेडाले बताए ।




प्लान्ट सञ्चालनमा आउने बित्तिकै जिल्ला अस्पतालको कोरोना वार्डमा रहेका ८ वटा बेडमा अक्सिजन पाइपको व्यवस्था गर्ने र आठवटै बेडमा पाइपबाट चौविसै घण्टा अक्सिजन उपलब्ध गराइने जिल्ला अस्पतालले जनाएको छ ।
त्यसैगरी दैनिक चार देखि ६ वटा अक्सिजन सिलिन्डर भर्न सकिने भएको छ । अब अक्सिजन भर्नका लागि जिल्ला बाहिर पठाउनुपर्ने र अक्सिजन कहिले आउला भनेर कुर्नुपर्ने अवस्थाबाट मुक्त भएको प्रमुख डाक्टर ओखेडाले बताए । जिल्ला अस्पतालमा अक्सिजन प्लान्टलाई थप प्रभावकारी बनाउनका लागि भ्याकुम र मेडिकल इएर थप्न बाँकी रहेको र त्यसलाई निकट भविष्यमा नै व्ववस्थापन गरिने भएको छ । अहिले जिल्ला अस्पतालमा १७० वटा अक्सिजन सिलिन्डर, स्वास्थ्य कार्यालयमा ६६ वटा, १० देउलेख स्वास्थ्य केन्द्रमा र १८ देउरा स्वास्थ्य चौकीमा रहेका छन् ।
अब जिल्लामा अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा रहेका छन् । जिल्लाको अन्य स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर लिन सक्ने अवस्था नभएकाले विद्युतबाट दिइने अक्सिजन कन्स्ट्रेटरको आवश्यकता बढी रहेको डाक्टर ओखडा बताउँछन् । अब अक्सिजन सिलिन्डर भन्दा पनि कन्स्ट्रेटरको आवश्यकता रहेको र कन्स्ट्रेटरलाई ग्रामीण भेगका स्वास्थ्य संख्यामा पनि सहजै सञ्चालन गर्न सकिने समेत उनको बताए ।



