सभामुखको अभिव्यक्तिप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

काठमाडौँ- सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघका पदाधिकारीहरूसँग भेटघाटका क्रममा सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रिमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति युनियनले आपत्ति जनाएको हो।

अध्यक्ष दिलीप पौडेलले एक विज्ञप्ति जारी गर्दै सभामुखबाट समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने गरी विचार अभिव्यक्त भएको भन्दै निन्दनीय भएको बताएका छन्।

‘सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुऱ्याउने गरी ‘पत्रकारहरु बिक्रीमा छन्’ भनेर अभिव्यक्त विचारप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ।

अस्वस्थ प्रतिस्पर्धामा रहेका केही राजनीतिक दलका प्रमुखहरुले आफू अनुकुल समाचार नआउँदा पत्रकारिता क्षेत्रलाईनै बद्नाम गर्ने गरी अभिव्यक्ति दिँदै आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘तटस्थ, निस्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर दिएको नेपालको स्वतन्त्र प्रेस विरुद्ध दिएको अभिव्यक्ति अपरिपक्क, अशोभनीय हो।

पत्रकारले नेपालको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिकालाई समेत स्मरण गराउन चाहान्छौं।’

सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, अपरिपक्क र गैर जिम्मेवार अभिव्यक्ति नदिन नेपाल प्रेस युनियनले आग्रह समेत गरेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...